नेपाली चलचित्र क्षेत्रले विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभल २०२६ मा ऐतिहासिक सफलता हासिल गरेको छ। युवा निर्देशक अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले ७९औँ कान्स फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल भएको छ। कान्सको इतिहासमा नेपाली फिचर चलचित्रले यस्तो मुख्य पुरस्कार जितेको यो पहिलो पटक हो।
विभिन्न देशको सह-निर्माणमा बनेको यस चलचित्रले नेपालको तराई क्षेत्रमा जंगली हात्तीको त्रास र त्यसको छायाँमा बाँचेका सीमान्तकृत पारलैंगिक (ट्रान्सजेन्डर) समुदायको पहिचान तथा संघर्षको मार्मिक कथा प्रस्तुत गर्दछ। चलचित्रमा पुष्पा थिङ लामा र गौरी मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
वर्ल्ड प्रिमियरमा यस चलचित्रले दर्शकहरूबाट ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको थियो। यो ऐतिहासिक जितले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा एक नयाँ उचाइमा पुर्याएको छ।

Add comment