चर्चित हिन्दी चलचित्र ‘रामायण’सँगको प्रतिस्पर्धाका बीच नेपाली चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलपछि फिल्म निर्धारित मितिबाटै हलमा आउने टुंगो लागेको हो।
फिल्मको नाम र प्रचारप्रसारमा देखिएका केही दृश्यलाई लिएर विभिन्न समूहबाट विरोध भएपछिको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, चलचित्र जाँच पास समितिका अधिकारीहरू र फिल्मकर्मी सहभागी थिए।
निर्माण टिमले पनि विज्ञप्ति जारी गर्दै फिल्मले कुनै पनि धर्म वा आस्थाको अपमान गर्ने उद्देश्य नराखिएको स्पष्ट पार्दै पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन हुने जानकारी दिएको छ।
कल्याणरानी फिल्म्सको प्रस्तुति तथा वसन्त निरौलाको निर्देशनमा बनेको यस बहुप्रतिक्षित चलचित्रको आधिकारिक ट्रेलर हालै सार्वजनिक गरिएको छ, जसले दर्शकमाझ ठूलै उत्सुकता पैदा गरेको छ।
सुशील पौडेलले लेखेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, सरिता गिरी र प्रशान्त ताम्राकार जस्ता दिग्गज तथा प्रतिभाशाली कलाकारहरूको दमदार अभिनय रहेको छ।
अर्जुन पोखरेलको संगीत र सम्राट बस्नेतको एक्सन निर्देशन रहेको यो चलचित्र हास्य, ड्रामा र सस्पेन्सको बेजोड संगमका साथ दर्शकलाई पूर्ण मनोरञ्जन दिन तयार भएको छ।

Add comment