भदौ १९ गते देखि देशभरका हलहरूमा प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ।
ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका मेलिना राई र गायक अर्जुन सापकोटाको सुमधुर स्वर रहेको छ। यसै गीतमार्फत गायक सापकोटाले चलचित्रको पार्श्वगायनमा प्रवेश गरेका छन्। गीतमा संगीत अर्जुनकै रहेको छ भने यसका शब्द सन्तोष सापकोटाले कोरेका हुन्।
जर्सिङ पौवामा छायांकन गरिएको यस गीतको भिडियोमा गाउँघरको उत्सव, सामूहिक रमाइलो र सेलिब्रेसनलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। मिग्मा डी लेप्चाको कोरियोग्राफीमा तयार भएको भिडियोमा गायक अर्जुन सापकोटासँगै सामाजिक सञ्जालमा चर्चित पवित्रा साकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले कम्मर मर्काएका छन्।
गीतमा चलचित्रका मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीको विशेष उपस्थिति देख्न सकिन्छ। ‘कमेडी दरबार’को प्रस्तुति तथा श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको यस चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, माओत्से गुरुङ र मनोज गजुरेललगायतका दिग्गज कलाकारहरूको सशक्त अभिनय रहेको छ।

Add comment