विश्वप्रसिद्ध कांस फिल्म फेस्टिभलमा ऐतिहासिक ‘जुरी प्राइज’ जितेर नेपाली सिनेमाको शिर उच्च बनाएको चलचित्र “तिनीहरू: एलिफेन्ट्स इन द फग” यतिबेला नेपालभरका सिनेमाघरहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ। गत भदौ १९ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा आएको यो चलचित्र आज प्रदर्शनको चौथो दिनमा प्रवेश गरेको छ।
चलचित्र रिलिज अगाडि सार्वजनिक गरिएको यसको आधिकारिक म्युजिकल ट्रेलर र त्यसमा समावेश भोजपुरी फ्युजन शैलीको “बलम” गीतले दर्शकमाझ निकै ठूलो उत्साह जगाएको थियो। देव अहिरराव र शिवानी भगतको स्वर तथा लभ कर्णको शब्द रहेको यो गीत र ट्रेलरको प्रस्तुतिले दर्शकहरूलाई हलसम्म तान्न सफल भइरहेको छ।
अविनाश विक्रम शाहको लेखन तथा निर्देशनमा तयार पारिएको यस चलचित्रमा पुष्पा थिङ लामा, साहबदिन मियाँ, जस्मिन विश्वकर्मा, माओत्से गुरुङ र गौरी मल्ला लगायतका पोख्त कलाकारहरूको मुख्य अभिनय रहेको छ। अनूप पौडेल, जुस्टिन पेचबर्टी, डामिन मेघर्बी र माइकल हेनरिचले निर्माण गरेको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी सह-निर्माताको रूपमा जोडिएकी छन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा अभूतपूर्व सफलता पाइसकेको यो चलचित्रले चौथो दिनसम्म आइपुग्दा घरेलु बक्स अफिसमा पनि दर्शक र समीक्षक दुवैको बलियो साथ पाइरहेको छ।

Add comment