नेपाली साङ्गीतिक क्षेत्रमा मौलिक र व्यावसायिक डान्सिङ गीतहरूको बाढी आइरहेका बेला गायक तथा सर्जक सुरेश अन्जानको नयाँ टिपिकल गीत “लौननि यस्तो भए म किन” सार्वजनिक भएको छ। सुरेश अन्जानको आधिकारिक युट्युब च्यानलबाट प्रिमियर गरिएको यस गीतले छोटो समयमै ३१ लाखभन्दा बढी भ्युज पाएर निकै ठूलो सफलता हासिल गरिसकेको छ।
गीतमा सुरेश अन्जान र अन्जिता विश्वकर्माको स्वर रहेको छ भने शब्द तथा संगीत पनि सुरेश अन्जानकै हो। गीतका भावले प्रेम, आकर्षण र प्रिय व्यक्तिप्रतिको गहिरो समर्पणलाई चित्रण गर्छ। विशेषगरी “तिमी बिना राजा एकछिन बाँच्नै सकिन” भन्ने भावले प्रेमको तीव्र अनुभूति व्यक्त गर्दै श्रोताको मन छोएको देखिन्छ। त्यसैगरी “लौननी यस्तो भए म किन” भन्ने मूल भावले मायाप्रतिको असहायपन र भावनात्मक आकर्षणलाई सरल लोक शैलीमा प्रस्तुत गरेको छ।
यस गीतको म्युजिक भिडियोको सबैभन्दा ठूलो विशेषता भनेको यसको छायांकन स्थल र कलाकारहरू हुन्। यो भिडियो पूर्ण रूपमा अफ्रिकाको पृष्ठभूमिमा छायांकन गरिएको हो। भिडियोको मुख्य अभिनय र नृत्य निर्देशन (कोरियोग्राफी) अनुस्का घर्ती क्षेत्रीले गरेकी छिन्। भिडियोमा अनुस्काको साथमा चर्चित अनुहारहरू धुर्बे, विष्णु गिरी र आइस्याट सानुसीको मुख्य भूमिका रहेको छ। भिडियोमा नेपाली कलाकारका साथै ओलायिन्का बाबतुन्डे, वालिउ अदेतोये लगायतका थुप्रै विदेशी (नाइजेरियन) डान्सरहरूलाई नेपाली पहिरनमा सजाइएको छ, जसले भिडियोलाई निकै आकर्षक र विश्वव्यापी बनाएको छ।

Add comment