प्रियंका कार्की जोशीको निर्माण तथा अभिनय रहेको फिल्म ‘मास्टर्नी’ यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। सुवेन्दु घोष निर्देशित फिल्म क्राइम थ्रिलर तथा मर्डर मिस्ट्री विधामा तयार भएको हो।
फिल्म प्रदर्शनअघि यसको ‘गुराँस फुल्दा’ बोलको गीत सार्वजनिक भइसकेको छ। मेलिना राईको स्वर, दयाराम दाहालको शब्द र सचिन सिंहको संगीत रहेको गीतमा प्रियंका कार्की र वर्षा राउत देखिएका छन्। गम्भीर विष्टले गीतको कोरियोग्राफी गरेका हुन्।
यो गीत पुरानो नेपाली फिल्म ‘सुपर स्टार’मा समावेश गीतको नयाँ प्रस्तुति हो। गीत सार्वजनिक भएपछि मेलिना राईको स्वर तथा प्रियंका र वर्षा राउतको प्रस्तुतिलाई लिएर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले नयाँ संस्करणलाई मौलिक गीतसँग तुलना गरेका छन्।
‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै सिम्रन खड्का, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्मा, प्रमोद अग्रहरी, सरोज खनाल, गौरी मल्ल, रक्षा थापालगायत कलाकारको अभिनय छ।
आयंका फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रियंका कार्कीको हो। पटकथा तथा संवादमा प्रियंका कार्की र शान बस्न्यातको सहभागिता छ।
प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको फिल्म भदौ ५ अर्थात् अगस्ट २१ देखि हलमा आउनेछ।

Add comment