अभया एण्ड द स्टिम इन्जिन्सले आफ्नो चर्चित गीतको दोस्रो भाग ‘लैजाऊ मलाई २ (अङ्गा मिम मेत्ने)’ सार्वजनिक गर्दै नेपाली सांगीतिक क्षेत्रमा मौलिकताको नयाँ मानक खडा गरेको छ। यस गीतले दुई दिनमै करिब २ लाख भ्युज बटुल्दै श्रोताको मन जित्न सफल भएको छ।
आधुनिक पप शैलीमा मुन्धुमी दर्शन र स्थानीय लयलाई मिसाएर अभया एण्ड द स्टिम इन्जिन्सले नेपाली संगीतमा नयाँ प्रयोग गरेको छ।
यस गीतको मुख्य विशेषता लिम्बू संस्कृति र मुन्धुम चेतको मिसावट हो। अभया सुब्बाको रचना र स्वर रहेको यस गीतमा लिम्बू ख्याली र च्याब्रुङको ताल प्रयोग गरिएको छ, जसले गर्दा गीत आधुनिक पप र लोक परम्पराको सुन्दर संगम बनेको छ। गीतमा डिल्ली फोम्बोको लिम्बू आवाज र सेर्मा दम्पतीको प्रस्तुतिले थप निखार ल्याएको छ। पाँचथरका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सुम्निमा-पारुहाङ र लिम्बू जनजीवनको सौन्दर्यलाई अभिषेक सुवेदीको निर्देशनमा निकै कलात्मक ढंगले उतारिएको छ।

Add comment