विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ आगामी असोज ३० देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आरटी इन्टरटेनमेन्टको ओफिसियल युट्युब च्यानलमार्फत यसको मुख्य रोमान्टिक गीत ‘लालीगुराँस’ सार्वजनिक गर्दै प्रचारप्रसारलाई तीव्र बनाएको छ। विराज भट्टको निर्देशन तथा सरस्वती भट्टको निर्माणमा तयार भएको यो चलचित्र एक्सन र पारिवारिक कथावस्तुमा आधारित छ।
सार्वजनिक गीतमा चर्चित गायक शिव परियार र गायिका सरोदी कुमारको सुमधुर युगल स्वर रहेको छ। युग भुसालको शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य नायक समीर भट्ट र नव-नायिका कृषु शाही (काफिया) को आकर्षक केमेस्ट्री र उत्कृष्ट नृत्य देख्न सकिन्छ। रामजी लामिछानेको कोरियोग्राफी र महेश पौडेलको छायांकन रहेको यस गीतले रिलिज भएसँगै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। चलचित्रमा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, सुनिल पोखरेल लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ।

Add comment