काठमाडौं— नेपाली नारीहरूको महान चाड हरितालिका तिजको अवसर पारेर सार्वजनिक गरिएको नयाँ तिज गीत ‘दिक्क लाईसक्यो’ अहिले विवादको केन्द्रमा परेको छ। देवाश्री फिल्म्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा देखाइएका कतिपय दृश्यहरूलाई लिएर दर्शकहरूले कडा आपत्ति र आलोचना जनाएका छन्।
अविरल थापाको शब्द तथा किरण भुसालको संगीत रहेको यस गीतमा दीपिका बयाम्बु, बेनिशा पौडेल र सुनिता बीकेको स्वर रहेको छ। वर्षा पौडेलले निर्देशन गरेको यस भिडियोमा अश्मी तामाङ, देवाश्री थापा र करुणा श्रेष्ठ लगायतका साना बाल कलाकारहरूलाई मुख्य भूमिकामा उतारिएको छ।
भिडियो सार्वजनिक भए लगतै सामाजिक सञ्जाल र युट्युबको प्रतिक्रिया खण्डमा दर्शकहरूले यसको कडा आलोचना गर्न थालेका छन्। विशेष गरी, तिज जस्तो पवित्र सांस्कृतिक चाडको गीतमा स-साना बाल कलाकारहरूलाई राखेर जुवातास खेलेको र मदिरा (रक्सी) सेवन गरेको दृश्य देखाइनु निकै लज्जास्पद र गैरजिम्मेवारपूर्ण भएको दर्शकहरूको तर्क छ। कतिपय स्रोताले यसलाई तिजको नाममा विकृति फैलाएको र बाल अधिकार तथा बाल मनोविज्ञान विपरीत बच्चाहरूको शोषण गरेको भन्दै आक्रोश पोखेका छन्।
कडा आलोचनाका बीच केही दर्शकले भने भिडियोको नयाँ अवधारणा र बाल कलाकारहरूको अभिनयको बचाउ समेत गरेका छन्।

Add comment