नेपाली संगीतको क्षेत्रले एक नयाँ उपलब्धि थपेको छ, जहाँ सुशान्त केसीको गीत ‘बार्दली’ ले #९० ग्लोबल टप म्युजिक भिडियो को सूचीमा स्थान पाएको छ। यस गीतले २०२४ अक्टोबर २७ (नेपाली मिति २०८१ कार्तिक ११) मा प्रिमियर भएको थियो र २५ दिनमै १ करोड ७१ लाख भ्युजको आँकड़ा पार गर्दै, यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ।
उसको एक झलक , मुस्कान नै अलग, उफ मार्यो नि मायाले, चर्चित यी हरफहरू रहेको ‘बार्दली’ को भिडियोमा सुशान्त केसी र इन्द्रकला राईको आवाजलाई संगै राखिएको छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ। यो गीतको संगीत र लेखन पनि सुशान्त केसीकै रहेको छ भने, निसाद श्रेष्ठको सेल्लो र कोबिद बज्राको सारंगी र टुङ्नाले गीतको संगीतलाई थप समृद्ध बनाएको छ।
यस गीतको भिडियो स्टेलर स्टुडियोज द्वारा निर्देशन गरिएको हो र भिडियोमा सुशान्त केसीसँगै आक्रिति राजभण्डारी र सशांक बोहरा प्रमुख भूमिकामा रहेका छन्। भिडियोको दृश्य र छायांकन नयन राई द्वारा गरिएको हो, जसले गीतको कथा र भावनालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
ग्लोबल संगीतको सूचीमा ‘बार्दली’ को स्थानले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ। यो उपलब्धि नेपाली संगीत उद्योगका लागि एक ऐतिहासिक क्षण हो। आगामी दिनमा यस गीतले अझ धेरै रेकर्ड तोड्ने अपेक्षा गरिएको छ, र यसका संगीत र भिडियोहरूलाई विश्वभरका संगीतप्रेमीहरूले रुचाउँदैछन्।