काठमाडौं । नेपाली सुगम संगीतका चर्चित गायक तथा संगीतकार एकदेव लिम्बुको सुपरहिट गीत ‘झिम झिमाउने आँखैले’ ले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको छ। केही समयअघि बलिउड गायिका नेहा कक्करसँगको सहकार्यमा हिन्दी संस्करण सार्वजनिक भइसकेको यस गीतलाई अहिले प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले ‘’स्याओ स्याओ’’ शीर्षकमा चिनियाँ भाषामा रूपान्तरण गरी गाएकी छन्।
झाओ लुसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको विवरणमा ‘’स्याओ स्याओ’’ नेपाली भाषाको कृति ‘झिम झिमाउने आँखा ’ बाट रूपान्तरण गरिएको स्पष्ट उल्लेख गरिएको छ। गीतको मूल धुनप्रतिको आकर्षण र त्यसले दिने भावनात्मक शक्तिका कारण आफूले पहिलोपटक तिब्बती भाषामा यो गीत गाएको उनले बताएकी छन्।
गीतलाई अझ प्रामाणिक बनाउन झाओ लुसीले आफूले एक टेलिभिजन कार्यक्रममा चिनिएकी तिब्बती बालिका योङ्जीलाई रेकर्डिङमा सहभागी गराएकी छन्। साथै, तिब्बती गायिका याङ्जिमाले तिब्बती उच्चारण सिकाउनुका साथै गीतमा हार्मोनी स्वर पनि दिएकी छन्।
गीतको वर्णनमा चन्द्रमा, हिमाल, घाँसे मैदान र आगोको धुनीजस्ता दृश्यहरूलाई केवल प्राकृतिक सौन्दर्यका रूपमा नभई मानिसहरूबीचको आत्मीय सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। गीतले प्रेमको ठूलो अभिव्यक्तिभन्दा पनि एकअर्कालाई बुझ्ने, सुन्ने र सम्मान गर्ने भावलाई केन्द्रमा राखेको छ।
झाओ लुसीले जुलाई १२ मा मकाउ कन्सर्ट (दोस्रो दिन) मा पहिलोपटक ‘स्याओ स्याओ’ गीतलाई प्रत्यक्ष रूपमा प्रस्तुत गरेकी छन्।
मूल गीत ‘झिम झिमाउने आँखा’ एकदेव लिम्बुले लेखेका, संगीतबद्ध गरेका र गाएका हुन्। २०२४ मा सार्वजनिक भएको उक्त गीतमा दीकिला शेर्पा र उपासना सिंह ठाकुरीको अभिनय रहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले व्यापक लोकप्रियता हासिल गर्दै युट्युबमा ५४ मिलियनभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र नेपाली संगीतको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने सफल सिर्जनामध्ये एक बनेको छ।
झाओ लुसीद्वारा सार्वजनिक गरिएको ‘सानोसानो’ ले नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुनः परिचित गराउने अपेक्षा गरिएको छ।
गायक एकदेव लिम्बुको गीत ‘झिम झिमाउने आँखैले’ लाई बलिउडकी प्रसिद्ध गायिका नेहा कक्करसँगको सहकार्यमा ‘झिम झिम’ शीर्षकमा हिन्दी संस्करणमा बनाएर एक वर्षअघि नै आधिकारिक रूपमा रिलिज गरिएको थियो।
