नेपाली संगीत आकाशका ‘मेलोडी किङ’ सबिन राई र उनको ब्यान्ड ‘द फ्यारो’ले नयाँ गीत “मलाई हेर” बजारमा ल्याएका छन्। यो गीतले सार्वजनिक भएको छोटो समयमै श्रोताको मन जित्न सफल भएको छ।
यो गीत एक कोमल प्रेम कथा हो, जहाँ शब्दभन्दा बढी नजर र मौनताले कुरा गर्छन्। गीतको शब्दमा कतै पनि ‘माया’ शब्दको प्रयोग नगरिए पनि यसले प्रेमको गहिराइलाई गज्जबले प्रस्तुत गरेको छ। गीतमा सबिन राईको मखमली आवाज र द फ्यारो ब्यान्डको उत्कृष्ट संगीत संयोजन रहेको छ।
अभि साम्पाङ राईको निर्देशनमा बनेको यस भिडियोमा निलम राई, आकाश सुहाङ लिम्बु र आयुष राईको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियोको कथा र सिनेमेटोग्राफीलाई दर्शकहरूले विशेष प्रशंसा गरेका छन्। फज स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्स र मास्टरिङ स्टेफन तामाङले गरेका हुन्। जीवनको संघर्ष र साथलाई समेटिएको यो गीतले नेपाली इन्डि-रक संगीतमा नयाँ आयाम थपेको छ।

Add comment