‘द प्रकाश सुवेदी शो’ को चौथो सिजनको २८औँ एपिसोडमा नायक भुवन केसी प्रस्तुतकर्ता प्रकाश सुवेदीसँगको कुराकानीमा निकै भावुक बनेका छन्। आफ्नो आगामी बहुप्रतिक्षित चलचित्र ‘बाटुलो जुन’ को प्रचारका लागि उपस्थित भएका भुवनले यस अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवन, सम्बन्ध र फिल्मी यात्राका धेरै भित्री कुराहरू खुलेर व्यक्त गरेका छन्।
अन्तर्वार्ताको क्रममा जब उनका छोरा तथा लोकप्रिय नायक अनमोल केसीको बाल्यकाल र पारिवारिक परिस्थितिको प्रसंग आयो, तब भुवन आफ्ना आँसु थाम्न सकेनन्। उनले विगतका तीतो यथार्थ र सम्बन्धबिच्छेदका पीडाहरू सम्झिँदै दर्शकलाई समेत भावुक बनाए। यद्यपि, आमाबुबाको साथ छुट्टिएर हुर्कनुपरे पनि अनमोलले पाएको असल संस्कार, नम्र स्वभाव र सबैप्रतिको सम्मानले आफूलाई गर्व महसुस भएको उनले बताए।
दर्शकहरूले पनि यस अन्तर्वार्तामा भुवनको रूप फरक र अत्यन्तै सरल पाएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममार्फत चलचित्र ‘बाटुलो जुन’ प्रति दर्शकहरूको चासो र प्रतीक्षा झनै बढेको छ।

Add comment