अनुराग खड्काको नयाँ सांगीतिक कोसेली ‘कसरी’ युट्युबमार्फत सार्वजनिक भई दर्शकहरूको मन जित्न सफल भएको छ।
‘सूर्यमुखी’ एल्बममा समावेश यस गीतले मनका गहिरो भावना र व्यक्त गर्न नसकिने मायालाई अति नै सुन्दर ढङ्गले समेटेको छ। यस गीतमा अनुराग खड्काको आफ्नै शब्द र संगीत रहेको छ भने उहाँसँगै प्रतिभाशाली गायिका आर्या आचार्यको जादुमय स्वरले यसमा अझ बढी प्राण भरेको छ। साथै, बिकेश लामाको बाँसुरीको धुन र एडिको उत्कृष्ट संगीत संयोजनले गीतको सांगीतिक मिठासलाई उच्च स्तरमा पुर्याएको छ।
विशेषगरी आर्या आचार्यको स्वरलाई श्रोताहरूले प्रशंसा गरिरहेका छन्। पहिलो आधिकारिक गीतमार्फत सांगीतिक यात्रामा अघि बढेकी आर्याको गायनले गीतलाई थप जीवन्त बनाएको छ। ‘कसरी’ प्रेम र मनका कुरा शब्दमा व्यक्त गर्न नसक्नेहरूका भावनासँग जोडिने अपेक्षा गरिएको छ।
विपिन श्रेष्ठको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा अनुराग खड्का र अनुराधा थापाको भावनात्मक अभिनय देख्न सकिन्छ। भिडियोको कथावस्तु र सादगीपनले सबैलाई आकर्षित गरेको छ।

Add comment