पुस २३, धरान | धरान फुस्रे स्थित श्री पब्लिक माध्यमिक विद्यालयले ७२औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्यो।
सो कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराईको सुमधुर आवाजमा रहेको विद्यालयको गाथा गीत पहिलो पल्ट सुनाईयो । प्रदेश १ का सामाजिक विकासमन्त्री माननीय पाँचकर्ण राईले साउण्ड सिस्टमको बटन दबाएर उक्त गीत सार्वजनिक गरेका थिए। पञ्चामार छन्दमा आधारित यो गीत विद्यार्थीहरूको जनजिब्रोमा सजिलै घुलमिल हुने खालको छ।
शिक्षक उमेश कुमार कार्कीद्वारा शब्दरचना गरिएको विद्यालयको दैनिक प्रार्थना सभामा गाइने गाथा गीत विद्यालयका कर्मचारी प्रफुल्ल भण्डारीको पहलमा वरिष्ठ गायिका लोचन भट्टराईले रेकर्ड गरी सहयोग गरेको कार्यक्रममा बताईएको थियो ।
गायिका लोचन भट्टराईले गीत रेकर्डिङ्, संगीत सम्योजन लगायतको खर्च आफैले गरेर बिधालयलाई निशुल्क उपलब्ध गराईएकोमा विद्यालय परिवारले उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै, धरान आगमनको अवसरमा गायिका भट्टराईलाई विशेष सम्मान प्रदान गरिने जानकारी विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौलाले दिनु भयो ।
Add comment