लोकप्रिय नेपाली गायिका एलिना चौहानको नयाँ गीत ‘बाचेकै छु केरे’ आज सार्वजनिक भएको छ। यो गीत प्रेम सम्बन्धबाट मुक्त भएपछिको व्यक्तिगत स्वतन्त्रता, आत्म-विश्वास र जीवनप्रतिको सकारात्मक दृष्टिकोणलाई केन्द्रमा राखेर तयार पारिएको छ।
एलिना चौहानको आफ्नै आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको यस गीतमा सन्तोष सापकोटाको मार्मिक तथा यथार्थपरक शब्द रचना रहेको छ। शब्दहरूले सम्बन्धमा रहँदाको बन्धन र त्यसबाट बाहिर निस्किएपछिको ‘मजा’ लाई सरल ढंगले प्रस्तुत गरेका छन्।
“यता पनि नजा भन्थ्यो उता पनि नजा, अहिले रोक्ने कोही नि छैन मलाई कति मजा” जस्ता बोलले दर्शकलाई आकर्षित गर्दछन्। गीतमा अर्जुन सापकोटाको संगीत संयोजनले सुनमा सुगन्ध थपेको छ, जसलाई एचबिएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतको म्युजिक भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र सुरेश खोलीको अभिनय देख्न सकिन्छ। निर्देशक विशाल घिमिरेले भिडियोलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्, जसमा बुद्ध थापाको छायांकन र डिनसन शाहको सम्पादन तथा कलरले न्याय गरेको छ।
भिडियोले गीतको भावलाई सशक्त रूपमा उतारेको छ। गीतले ब्रेकअपपछिको पीडामा नअल्झिई जीवनलाई अगाडि बढाउने प्रेरणादायी सन्देश दिएको छ। एलीनाको यो नयाँ प्रस्तुति सार्वजनिक भएको केही घन्टामै दर्शकबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ। सामाजिक सञ्जालमा धेरैले गीतको शब्द, एलीनाको स्वर र भिडियोमा देखाइएको कथा जीवनसँग धेरै नजिक रहेको भन्दै साझा गरेका छन्।

Add comment