अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ युट्युबमा सार्वजनिक भएपछि दर्शक र संगीतप्रेमीको मन जित्न सफल भएको छ। गीतले एक युवा नेपालीको कथा बोकेको छ, जो आफ्ना साना सपना पूरा गर्न घर, परिवार र गाउँ छोडेर विदेश जाने निर्णय गर्छ। तर के ती सपना पूरा हुन्छन् कि भाग्यले फरक अन्त्य लेख्छ? गीतमा आशा, संघर्ष, मौनता र प्रेमको भाव सुन्दर रूपमा चित्रित गरिएको छ।
अर्जुन सापकोटाले आफ्नो भाव व्यक्त गर्दै भनेका छन्, “गीतहरू बनाइन्छ तर केही गीतहरू बन्दैनन्, जन्मिन्छन्। ‘झलिको’ पनि त्यस्तै जन्मिएको गीत हो। धेरै गीत गाए, बनाए, अभिनय गरे तर ‘झलिको’ साच्चिकै मेरो मनमा जोडिएको गीत हो। शूट गर्न पनि सजिलो थिएन—कहिले मौसमले रोक्यो, कहिले बाटोले, त कहिले थकाइले। अन्ततः यो गीत तपाईंहरू सामु ल्याउन पाउँदा मन भरिएर आएको छ। आशा छ, तपाईंहरूले पनि यस गीतमा आफ्नो कुनै सम्झना वा भावनाको झल्को पाउनुहुनेछ।”
गीतमा अर्जुन सापकोटा, मेलिना राई र समीक्ष्या अधिकारीको स्वर रहेको छ भने अभिनयमा अर्जुन सापकोटा, कुसुम भण्डारी र शिवु पाण्डे फिचर्ड छन् भने निर्देशन बिशाल घिमिरेले गरेका छन् । भिडियोमा सरंगी, बाँसुरी, मादल, तुङ्ना, गितार र पञ्चेबाजा जस्ता नेपाली वाद्यसंगीतको सुन्दर मिश्रण गरिएको छ। गीत रिलिज भएको केही दिनमै ३.६ मिलियनभन्दा बढी भ्यू पार गरिसकेको छ।

Add comment