काठमाडौं — संगीत समूह स्वारले आफ्नो नयाँ गीत ‘बिदाई’ को आधिकारिक भिडियो सार्वजनिक गरेको छ। युट्युबमार्फत प्रिमियर गरिएको यस गीतले प्रेम, वियोग र मृत्युपछिको वाचालाई गहिरो भावनात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतका शब्दहरू “समाल्न सकेन मन, समाल्न सकेन समय, अस्वीकार जति गरू म, रहेन केही हाम्रो बीच” ले सम्बन्धको विवशता र समयसँग हार मानेको मनको पीडालाई उजागर गर्छन्। त्यस्तै “खाली आँशु मात्रै छ बिदाईको बेला” भन्ने पंक्तिले गीतको मूल भावलाई अझ मार्मिक बनाएको छ।
‘बिदाई’को कथामा जीवनभर दुलही बन्ने सपना देखेकी एक युवती र उनलाई निस्वार्थ प्रेम गर्ने पुरुषको कथा समेटिएको छ। युवतीको निधनपछि पनि उनका अन्तिम चाहनालाई सम्मान गर्दै उनलाई दुलहीको रूपमा विदाइ गर्ने दृश्यले प्रेम जीवनभन्दा पर पनि अमर रहन्छ भन्ने सन्देश दिन्छ।
गीतका अन्य शब्दहरू “कति माया गर्छु तिम्लाई देखाउन सक्दिन कहिले नि” र “मेरो यो मन, मेरो जीवन, म जे सुकै छु तिमी बिना” ले प्रेमको गहिराइ, असहायता र अधुरोपनलाई भावनात्मक रूपमा चित्रण गर्छन्।
सार्वजनिक भएको छोटो समयमै ‘बिदाई’ले युट्युबमा उल्लेखनीय दर्शक संख्या हासिल गर्दै दर्शक तथा संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

Add comment