नेपाली सुगम संगीतका चर्चित गायक स्वप्न सुमनले आफ्नो नयाँ सांगीतिक कोसेली ‘मेरो हजुर’ सार्वजनिक गरेका छन्। यो गीत ‘राधा’ को सांगीतिक शृङ्खलाको एक अभिन्न हिस्साको रूपमा बजारमा आएको हो।
यस गीतमा स्वप्न सुमनलाई गायिका अभिज्ञा घिमिरेले स्वरमा साथ दिएकी छिन्। टंका (राधा कुमारी) पौडेल र स्वप्न सुमनको संयुक्त शब्द रचना रहेको यस गीतमा संगीत पनि सुमनकै रहेको छ। सस्वत श्रेष्ठको संगीत संयोजनमा तयार भएको यस गीतमा सारंगी, बाँसुरी र मादल जस्ता मौलिक बाजाको प्रयोगले श्रोतालाई नेपाली पनको आभास दिलाउँछ।
ज्योत्स्ना योगीको निर्देशन र कथामा निर्माण भएको म्युजिक भिडियोमा आँचल ताम्राकार र मनोज महर्जनको मुख्य भूमिका रहेको छ। पाँचखाल र साँखुका रमणीय स्थलमा छायांकन गरिएको भिडियोले नेपाली ग्रामीण संस्कृति र प्रेमको सादगीलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। निहाल भण्डारीको छायांकन र अञ्जन लिम्बूको सम्पादनले भिडियोलाई थप आकर्षक बनाएको छ।
सार्वजनिक भएको केही हप्तामै १७ लाख भन्दा बढी भ्युज बटुल्न सफल यो गीत अहिले युट्युबमा निकै रुचाइएको छ। ‘द यात्रा इभेन्ट्स यूके’ ले प्रस्तुत गरेको यो गीत स्वप्न सुमनको अफिसियल युट्युब च्यानल मा उपलब्ध छ।
युट्युबमा आएका दर्शक प्रतिक्रियाले ‘मेरो हजुर’ गीत र म्युजिक भिडियोप्रति गहिरो प्रेम र प्रशंसा झल्काएका छन्। अधिकांश कमेन्टहरूमा मनोज महर्जनको अभिनयलाई अत्यन्तै स्वाभाविक र पर्दामा देखिन लायक भन्दै ठूलो पर्दामा देख्न चाहने इच्छा व्यक्त गरिएको छ भने आँचल ताम्राकारसँगको केमेस्ट्रीलाई “अनरियल” र “शो चोर्ने” स्तरको बताइएको छ। स्वप्न सुमनको स्वर, गीतका शब्द र ‘राधा’सँग जोडिएको कथात्मक निरन्तरताले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया व्यापक छ, कतिपयले भाग ३ को मागसमेत गरेका छन्।
