काठमाडौं — गायक अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘आँखै बैमानी’ युट्युबमार्फत सार्वजनिक भएको छ। सार्वजनिक भएको तीन दिनमै गीतले ५.७ मिलियनभन्दा बढी भ्यूज हासिल गर्दै सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।
गीतमा अल्मोडाले शब्द, संगीत र स्वर प्रदान गरेका छन् भने मिक्स र मास्टरिङ पनि स्वयं गरेका हुन्। यसमा परम्परागत नेपाली लोकधुन र आधुनिक अर्बन रिदमको संयोजन गरिएको छ, जसले पुरानो र नयाँ पुस्ताबीचको संगीतको सेतु निर्माण गरेको छ।
गीतको भिडियोमा The Wings ब्यान्डका सदस्यहरूले अभिनय र नृत्य प्रस्तुत गरेका छन्। भिडियोमा नेपाली सांस्कृतिक पोशाक र वाद्ययन्त्रहरूलाई आधुनिक दृश्य–शैलीसँग जोडेर प्रस्तुत गरिएको छ। भिडियोको छायांकन सन्जिप राई, जेन्सिह नेवा र चक्र पुलामी मगरले गरेका हुन् भने सम्पादन सन्जिप राई र चक्र पुलामी मगरले गरेका छन्।
