पूर्वयुवराजा पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हृदयन्द्र शाहको यात्रा भिडियो युट्युबमा निकै चर्चामा आएको छ। “जुम्ला यात्रा” शीर्षकमा सार्वजनिक गरिएको उक्त भिडियोले हालसम्म ९ लाख ६६ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।
साझा कथा युट्युब च्यानलमार्फत २०८२ साउन १४ गते, शाहको जन्मदिनको अवसरमा अपलोड गरिएको १५ मिनेट लामो भिडियोमा जुम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन र पर्यटकीय सम्भावनाबारे जीवन्त दृश्य प्रस्तुत गरिएको छ।
भिडियोमा शाहलाई जुम्लाको तिला नदीको किनारमा रमाइरहेको, कर्णाली प्राविधिक शिक्षालय र ऐतिहासिक डुडल चैत्यमा स्थानीयहरुसँग खुलेर कुराकानी गरिरहेको देख्न सकिन्छ। कुराकानीका क्रममा एक स्थानीय महिलाले सोधेको प्रश्न – “हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?” प्रति शाहले विचार प्रस्तुत गरेका छन्।
भिडियोको अन्त्यमा शाहले जुम्लाको अपार सौन्दर्यले आफूलाई मुग्ध बनाएको भन्दै पुनः यहाँ फर्केर आउने इच्छा व्यक्त गरेका छन्।