चर्चित संगीतकार तथा निर्देशक टंक बुढाथोकीको निर्देशनमा बनेको नेपाली फिल्म ‘मन बिनाको धन’ अहिले देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ। बालगायकका रूपमा चर्चित असोक दर्जीको पहिलो चलचित्रका रूपमा यस फिल्मले दर्शकबीच राम्रो चर्चा कमाइरहेको छ। परिवारमै हेर्न मिल्ने भावनात्मक कथा र टंक बुढाथोकीकै संगीत तथा निर्देशनको कारणले चलचित्रले हलमा उल्लेखनीय दर्शक तान्न सफल भएको छ।
फिल्ममा असोक दर्जी, आर बुढाथोकी, निता ढुंगाना, सरोज खनाल, रविन्द्र झा, सन्तोष पन्त, बुद्धि तामाङलगायतका लोकप्रिय कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।
प्रेम, संघर्ष र पारिवारिक मूल्यमा आधारित कथा भएको ‘मन बिनाको धन’ अहिले बक्स अफिसमा सफल चलचित्रहरू ‘परान’ र ‘जारी–२’सँग प्रतिस्पर्धा गर्दैछ।
त्यस्तै, चलचित्रको चर्चित गीत ‘बा आमा’ हालै युट्युबमा सार्वजनिक गरिएको छ, जसले दर्शकको मन छोएको छ। असोक दर्जी र आर बुढाथोकीको भावनात्मक स्वरमा सजिएको यो गीतमा गीतकार शंकर आचार्यका शब्द र संगीत तथा एरेन्ज टंक बुढाथोकीको रहेको छ। श्यामश्वेत रसाइलीद्वारा मिक्स तथा मास्टर गरिएको यस गीतले आमाबाबुको माया, समर्पण र पारिवारिक सम्बन्धको गहिरो भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। गीतको भिडियोमा सरोज खनाल, निता ढुंगाना, र असोक दर्जीको अभिनय विशेष प्रशंसा पाउँदैछ।

Add comment