आगामी वर्षको बहुप्रतिक्षित चलचित्र ‘लालीबजार’ को पहिलो गीत “माया लाई के दिउँ म बैना” सार्वजनिक भएसँगै युट्युब र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। षट्कोण आर्ट्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको यस लोक शैलीको गीतले छोटो समयमै करोडौं दर्शकको साथ पाउँदै युट्युब ट्रेन्डिङमा स्थान जमाउन सफल भएको छ।
गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र गायिका दिपिका बयाम्बु मगर को सुमधुर स्वर सुन्न सकिन्छ। वरिष्ठ सर्जक रमेश बिजी का शब्द र खेम सेन्चुरीकै संगीत रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन्।
भिडियोको मुख्य आकर्षण अभिनेत्री स्वस्तिमा खड्का को आकर्षक नृत्य र ऊर्जावान् प्रस्तुति रहेको छ। प्रदीप लामाको नृत्य निर्देशनमा तयार पारिएको यस भिडियोमा स्वस्तिमासँगै विशाल देवकोटा, रविन्द्र सिंह बानियाँ र बाल कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।
यम थापाको निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ आगामी वैशाख १८, २०८३ (मे १, २०२६) देखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

Add comment