नेपाली फिल्म क्षेत्रको अर्को कलात्मक उपहार “चिसो मान्छे” युट्युबमार्फत ओएसआर डिजिटल च्यानलमा सार्वजनिक भएको छ। निर्देशक दिपेन्द्र के. खनाल को लेखन, निर्देशन र छायांकनमा बनेको यो चलचित्रले गाउँको कठोर जीवनशैली, मौन पीडा र असहज सम्बन्धको कथा मार्मिक ढंगमा प्रस्तुत गरेको छ।
चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, र देशभक्त खनाल मुख्य भूमिकामा छन्। कथामा पात्रहरू शब्दभन्दा धेरै मौनतामा बोल्छन् — जहाँ समाजको बेवास्ता, गरिबी, र सम्बन्धमा आएको चिसोपन प्रमुख विषय हुन्। सुदूर ग्रामीण भेगको पृष्ठभूमिमा आधारित चलचित्रले आम नेपालीको यथार्थ कथालाई छर्लंग बनाएको छ।
फिल्ममा स्वस्तिमा खड्काको पात्र चुपचाप रहेर संसारसँग लड्ने महिला हो भने अर्पण थापा एक जिम्मेवारी र विवशताबीच अल्झिएको पात्रको रूपमा प्रस्तुत छन्। यी पात्रहरूबीचको भावनात्मक दूरी, सामिप्यता र गुम्सिएका सम्बन्धहरू नै कथाको मेरुदण्ड बनेका छन्।
सिनेम्याटोग्राफी, संगीत, र सम्पादन पक्षमा चलचित्र निकै बलियो देखिन्छ। गम्भीर दृश्यहरूमा पुष्प संगमको सुमधुर ब्याकग्राउन्ड स्कोरले कथाको भावनात्मक गहिराइ अझ बढाउँछ। संवादभन्दा दृश्य र मौनता बोल्ने यो चलचित्र दर्शकलाई सोच्न बाध्य बनाउने शैलीमा प्रस्तुत गरिएको छ।
तपाईं पनि हेर्न नबिर्सनुहोस् — यो कथा जति चिसो देखिन्छ, उति नै भित्र बलिरहेको हुन्छ।
Add comment