जब प्रेम मौन हुन्छ, शब्दभन्दा गहिरा अनुभूतिहरू गुञ्जिन्छन्। कहिलेकाहीँ नजिक भएर पनि टाढाको महसुस हुन्छ, अनि मनभित्र प्रश्नहरू पलाउँछन् – के ऊ अझै मसँग छ? के म प्रतीक्षा गरिरहनु उचित छ?
ठ्याक्कै यिनै भावनाहरूलाई समेट्दै, चर्चित गायक जोन चाम्लिङ राईको सुमधुर स्वरमा नयाँ गीत ‘पर्खी रहेछु’ सार्वजनिक भएको छ। गीत प्रेम र दूरीबीचको संघर्ष, नबोलेका कुरा, र मौन संवादबाट जन्मिने दुविधाको कथा हो।
यो गीतले दर्शकलाई प्रेमको पर्खाइ, चुपचाप बढ्दै गएको असमझदारी, र सम्बन्धको संवेदनशीलतालाई कलात्मक ढंगमा महसुस गराउँछ। एउटै पर्खालभित्र भए पनि कहिलेकाहीँ सात समुन्द्र टाढाजस्तो अनुभूति हुन्छ, जब संवाद हराउँछ, अनि केवल मौनता बाँकी रहन्छ।
गीतमा जोनले मौन प्रेमभित्रको चिच्याहटलाई शान्त तर तीव्र रूपमा व्यक्त गर्छन। यिनै मौनता र पर्खाइको गहिरो पीडालाई उनले स्वरमार्फत श्रोतालाई महसुस गराएका छन्।
जोन एण्ड द लोकल्सको संगीत संयोजनले गीतलाई भावनात्मक गहिराइ दिएको छ। गीतले दर्शकको मन छोएको छ। सार्वजनिक भएको एक महिना नपुग्दै युट्युबमा १४ लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ।
Add comment