काठमाडौं — नेपाली चलचित्र “भाइरल गोर्खे” को पहिलो गीत “बातासले उडाई ल्यायो” हालै युट्युबमार्फत सार्वजनिक गरिएको छ। बुढा सुब्बा डिजिटलको आधिकारिक च्यानलबाट सार्वजनिक गीतले छोटो समयमा नै ५ लाखभन्दा बढी भ्युज पाउँदै दर्शकको ध्यान तानेको छ।
गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर, र रोहित शाक्यको संगीत सुन्न सकिन्छ। भिडियोमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठबीचको भावनात्मक प्रेमकथा प्रस्तुत गरिएको छ, जसले पुरानो गीतको मिठास र नयाँपनको अनुभव दिलाएको छ।
यो गीत १९९० को चर्चित चलचित्र “चिनो” मा समावेश मूल गीत “बतासले उडाई ल्यायो” को नयाँ संस्करण हो। पुरानो संस्करणमा स्वर कुमार काँच्छा र आशा भोसले, शब्द कुसुम गजमेर, र संगीत रञ्जित गजमेरको थियो। नयाँ संस्करणको निर्देशन निगम श्रेष्ठले गरेका छन् भने श्याम पटेलले कोरियोग्राफी र सूरज महार्जनले छायांकन सम्हालेका छन्। निर्माता अविनाश पौडेल र श्रवण श्रेष्ठ रहेका छन्।
उत्कृष्ट अभिनय, मनमोहक दृश्य र आधुनिक संगीत संयोजनका कारण गीत अहिले सामाजिक सञ्जालमा निकै ट्रेंडिङ बन्दै गएको छ। यसैबीच, चलचित्र “भाइरल गोर्खे” आगामी माघ १ गते देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

Add comment