लोकप्रिय डकुमेन्ट्री शृङ्खला हेर्ने कथा को नयाँ भाग ‘हेटौंडा कपडा उद्योगको कथा’ सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको शृङ्खला १६३ ले नेपालको औद्योगिक इतिहास, यसको पतन र पुनःउत्थानको सम्भावनाको मार्मिक चित्र प्रस्तुत गरेको छ।
वि.सं. २०३३ सालमा चिनियाँ सहयोगमा स्थापना भएको हेटौंडा कपडा उद्योग ले कुनै समय करिब १२०० जनालाई प्रत्यक्ष रोजगारी दिएको थियो। डकुमेन्ट्रीमा २३ वर्षसम्म मजदुरका रूपमा काम गरेका प्रकाश पौडेलको अनुभवमार्फत उद्योगको उत्थान र २०६४ सालमा भएको यसको अन्तिम अवसानलाई नजिकबाट देखाइएको छ।
निर्देशक कमल कुमार र प्रस्तोता विद्या चापागाईँले भग्नावशेषमा परिणत उद्योगको वर्तमान अवस्था, त्यहाँ अलपत्र अवस्थामा रहेका मेसिनहरू र कामदारहरूका भावुक सम्झनाहरूलाई कलात्मक ढंगले उजागर गरेका छन्।
डकुमेन्ट्रीले उद्योग बन्द हुनुका मुख्य कारणहरू—राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, र नीतिगत अस्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ। साथै, हजारौँ रोजगारी गुम्नु, युवाहरूको वैदेशिक रोजगारीप्रतिको बाध्यता र राष्ट्रिय उत्पादनमा आएको गिरावटजस्ता ज्वलन्त मुद्दाहरू पनि यसमा समेटिएका छन्।
सार्वजनिक भएपछि दर्शकहरूबाट अत्यन्त भावुक प्रतिक्रिया आइरहेका छन्। धेरैले उद्योग पुनःसञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् भने पछिल्लो समय प्रतिनिधिसभामा समेत हेटौंडा कपडा उद्योग सञ्चालनको माग चर्किएको छ। केही दर्शकहरूले सामूहिक लगानी र श्रमदानमार्फत उद्योगलाई पुनर्जीवन दिन सम्भव रहेको धारणा समेत व्यक्त गरेका छन्।

Add comment