नेपाली चलचित्र ‘झरीपछि को इन्द्रेणी’ को आधिकारिक गीत ‘आम नेपाली बुबा’ युट्युबमार्फत सार्वजनिक भएको छ। बालेनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको उल्लेखनीय प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको केही दिनमै गीतले १५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘कुन मन्दिरमा जान्छौ यात्री’ को मूल भावलाई आधार मानेर तयार पारिएको यस गीतमा बालेनको र्याप र शब्दले आम नेपाली बुवाको संघर्ष, जिम्मेवारी र त्यागलाई चित्रण गरेको छ। कोरसमा दीक्षा उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत रञ्जित गजमेरको मौलिक धुनमा आधारित छ। गीतको एरेन्ज क्रोनिक बिट्जले गरेका हुन्।
नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झरीपछि को इन्द्रेणी’ आगामी ४ पौष (१९ डिसेम्बर) बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ। चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्देशन अर्जुन घिमिरेले गरेका हुन्।
