“परदेशमा, तिहार पनि दसैंकै भेषमा आउँछ र, एक्लै देउसी खेलेर रमाउँछ”

घटस्थापनाकै दिन हो
यता पनि जमरा राखेको
उता टपरीभरि जौं छर्नुहुन्थ्यो आमा
यता टपरी जस्तै प्लास्टिकको भाँडोमा
जौं छरेकी थिइन् उनले ।

उसै गरी हुर्केका थिए जमरा
जसरी उता हुर्केका हुन्थे ।

आमा स्काइपको भिडियो हेर्दै भन्नुहुन्थ्यो-
कान्छा, जमरा त यताभन्दा उताकै सप्रेका रैछन्!

मलाई भने आँपको तप्केनमा बढेका
जौं जस्ता लाग्थे हाम्रा जमरा ।

दसैंको शुभकामना दिँदै
दिदीले फोनमा सोध्नुभयो-
बाबु! कत्तिको उड्छन् नि तालचरा
उताको आकाशमा?

सम्झेँ बाल्यकाल,
आँगनको डिलबाट दिदीको हात समाउँदै हेर्ने गर्थें-
पखेटाको माला उनेर आकाश चुम्दै उड्ने
हुलका हुल चराहरु
छुट्दै जुट्दै गरेका चराका थुङ्गाहरु देखाउँदै
दिदी भन्नुहुन्थ्यो-
दसैं भित्रेपछि
फूलपाती चढाउन जान्छन् यी चराहरु
भगवानको घरसम्म ।

निस्केँ बाहिर
र, हेरेँ आकाश
कतै देखिन
उता जस्तै दसैंको मालाश्री धुन बजाउदै उड्ने चराहरु
सोचेँ-
कस्तो जाती हुने थियो
भइदिएको भए चराहरु पनि जमरा जस्तै
देख्थेँ होला यो आकाशमा
बादलको धागोमा उनिएका मालचराका हुलहरु ।

फटाफट टाइप गर्दै
फेसबुकको मेसेन्जरमा
भाइले भन्यो-
दाइ म त पिङ खेल्न हिँडे है!
र, उति नै खेर मलाई सोध्यो-
दाइ तपाईंले खेलिसक्नु भो त?

तुरुन्तै भाइ अफलाइन भयो…

खोलेँ झ्याल
र, हेरेँ बाहिर
तर कतै देखिन पिङ
जो कपाल जस्तै बाटिएको खर
पिपलको पाखुरामा हल्लिरहेको हुन्थ्यो ।

टाँसेर रातो टीका निधारभरि
बोकेर जमराको मुठो
दुवै कानको ढाडमाथि
हिँड्थ्यो दसैं दिनभर गाउँसहर

परदेशमा,
हिँड्दैन दसैं गाउँसहर
हिडाउँछौ हामी दसैंलाई घरघरमा
र, मनाउँछौ परदेशमा दसैं ।

उता गाउँमा
लाहुरेको हात समाउँदै
ओर्लिंदै होला तिहार देउरालीको सिरानबाट
मखमली र गुरधौलीले
ढपक्क फुलेको होला आँगनीको डिल
मिलाउँदै होलिन् बहिनी चिउरीको दुनामा
रङ्गहरुको समीकरण
बजाउँदै मादल
नाच्दै होलान् साथिभाइ सोरठी भाकामा ।

यता पनि फुलेका छन् फुलहरु त
र, बज्छन् मादलभन्दा चर्को आवाजमा वेस्टर्न बाजाहरु
तर फुल्न सकेको छैन तिहार अझै
फुलको थुङ्गाहरुमा
देखेको छैन नाचेको सोरठी
वेस्टर्न बाजाहरुको धुनमा ।

परदेशमा,
तिहार पनि दसैंकै भेषमा आउँछ
र, एक्लै देउसी खेलेर रमाउँछ
मनाउँदैन तिहार
उता जस्तो गाउँसहरले यता।

भिंडियों सौजन्य : लेखक (Narayan Singh Gurung)

कमेन्ट लेख्नुहोस